पुसको विहानको चिसो । काठमाडौंको भिड । त्यो भिड र पुसको तुवालो पन्छाउँदै एकाविहानै बागबजारस्थित होटल हार्दिमा पुग्दा एक जथ्था साहित्यकार उपस्थित भैसकेका थिए । बाटैमा गजलकार बाबु त्रिपाठी भेटिन्छन । म भने भन्दा आधा घण्टा ढिला भैसकेकी हुन्छु । नाटककार पुरु लम्साल तिमीनै ढिला आएर हुन्छ भन्दै थिए तर, कार्यक्रम सुरु हुने अझै छाटकाट थिएन ।
छोटो भलाकुसारी पछि कार्यक्रम हलमा छिर्दै गर्दा नाटककार तथा गजलकार पुरु लम्साल पोडियमको माईक समाउन पुग्छन । सुरुमै कार्यक्रम ढिलो सुरु भएकोमा क्षमा याचना गर्छन र कार्यक्रम सुरु गर्छन । यो दृष्य हो आईतबार राजधानीमा आयोजित कवि कमल शाहको कविता संग्रह ‘बुर्जुवा मस्तिष्क’ समारोहको ।
पुरु लम्साल कविताका यस्तै हरफ फलाक्दै र कार्यक्रमको औपचारिकता निभाउँछन् । कार्यक्रममा उपस्थित स्रष्टालाई स्वागत गर्न गजलकार बाबु त्रिपाठी मञ्चमा पुग्छन । अरुबेला बोलेर नथाक्ने त्रिपाठी यो कार्यक्रममा भने कमै बोल्छन र स्वागतका शब्द बोलेर बिदा माग्छन् । कवि कमल शाहको कविता संग्रह ‘बुर्जुवा मस्तिष्क’ कार्यक्रमका प्रमुख आतिथि प्राज्ञ कवि अमर गिरीले विमोचन गर्छन । गिरीलाई कवि प्रोल्लास सिन्धुलीय, प्राज्ञ कवि वियोगी बुढाथोकी लगायतका स्रष्टाले साथ दिन्छन ।
विमोचनको औपचारिक कार्यक्रम सकिए पछि कविता वाचनका लागि मञ्चमा पुगेका कवि शाह आफूले कविता लेख्नका लागि र प्रकाशनका लागि नलेखेको केवल आत्मा सन्तुष्टिका लागि लेखेको बताउँछन । एउटा मान्छेले आफ्नो आत्मालाई सन्तुष्ट बनाउने पाटो सायद अरु मान्छेको पनि सन्तुष्टिको पाटो बन्दो ररहेछ । त्यसैले कवि बन्नकै लागि भनेर कविता नलेखेका शाहलाई उनका कविताले कवि बनाए र उभ्याए अन्य कविहरुका पङ्तीमा ।

